कर्णाली याक्स र नेबिकोबीच साझेदारी

October 17, 2025

कर्णाली याक्स र नेबिकोबीच साझेदारी

काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि. र नेबिको लिमिटेडबीच सहप्रायोजनका निम्ति सम्झौता भएको छ । 

बिहीबार याक एण्ड यति होटेलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता कार्यक्रममा नेबिकोका सीईओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए । 

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै एनपीएल हुन लागेकोमा खुसी व्यक्त गरे । यस्तै, घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए । 

नेबिकोका सीईओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउँदै यो सहकार्यले व्यावसायिक यात्रामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

सम्झौता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ । नेबिको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन चर्चित छन् । 

२०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपीनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।